काठमाडौं । लियोनल मेसीले एक गोल र एक उत्कृष्ट असिष्ट गरेको खेलमा बार्सिलोना विजयी भएको छ । लालिगा फुटबलमा शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेभिल्लालाई मैदानमै हराएको हो । बार्सिलोनाले सेभिल्लामाथि २–० को सहज जित निकाल्यो । बार्सिलोनाका लागि २९ औंं मिनेटमा कप्तान लियोनल मेसीको पासमा उस्मान डेम्बेलेले पहिलो गोल गरे।
निर्धारित खेलअविधिको अन्तिम पाँच मिनेट बाँकी छँदा मेसीले दर्शनीय गोल गरे र टोलीको जित सुनिश्चित गरे । मेसिको जारी सिजनको शुरुवात खराब थियो । तर, सन् २०२१ शुरु भएयता भने मेसी निरन्तर चम्किरहेका छन् । उनले पछिल्लो ८ खेलबाट १२ गोल गोल गरिसकेका छन् ।
जारी सिजनमा उनी सर्वाधिक गोलकर्ता बनिसकेका छन् । जितसँगै बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाभन्दा एक खेल कम खेलेको सेभिल्ला चौथो स्थानमा रहेको छ । बार्सिलोनाको ५३ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ५२ अंक छ। शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ५५ अंक रहेको छ।