एक दशकमा कतारमा मात्र १६४१ नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीका लागि पुगेका श्रमिकमध्ये नेपालमा औसतः दैनिक दुई जनाको शव आउने गरेको छ । यसमा पनि खाडी मुलुकको तथ्यांक डरलाग्दो छ । त्यसो त खाडी मुलुकमै नेपालीको संख्या पनि अधिक छ । बेलायती पत्रिका द गार्जियनले एक रिर्पोटमा आधारित हुँदै भनेको छ, पछिल्लो एक दशकमा कतारमा मात्र १ हजार ६ सय ४१ जना नेपाली नागरिकको ज्यान गएको छ ।

कतारको निर्माण क्षेत्रमा बढी जसो नेपाली श्रमिक खटिएका छन् । नेपालजस्तो शितल ठाउँबाट कतार पुगेका नेपालीले कतारको चर्को गर्मीमा काम गर्दा ज्यान गुमाउने गरेका छन् । कतारले २०२२ मा आयोजना गर्न लागेको विश्वकप फुटवल प्रतियोगिताका लागि रंगशाला निर्माण धमाधम गरिएको छ ।

खासगरी रंगशाला निर्माणकै दौरान बढी आप्रवासी श्रमिकको ज्यान गएको गार्जियनको दावि छ । कतारमा सन् २०११ देखि २०२० को बीचमा ६ हजार ५ सय भन्दा बढी आप्रवासी श्रमिकले ज्यान गुमाएको गार्जियनको दावि छ । यहाँ प्रत्येक साता १२ आप्रवासी श्रमिकले ज्यान गुमाएको देखिएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी भारतीय छन् ।

१० वर्षमा २ हजार ७११ भारतीय, १ हजार १८ जना बंगलादेशी, ८२४ जना पाकिस्तानी र ५५७ जना श्रीलङ्कन नागरिक छन् । गार्जियनका अनुसार नेपालीमध्ये ४८ प्रतिशतको प्राकृतिक मृत्यु भएको छ । १६ प्रतिशत नेपालीको सडकमा दुर्घटना, १० प्रतिशतको काम गर्ने ठाउँमा दुर्घटनामा र ९ प्रतिशतको रोग, रक्तस्राव, मृगौला फेलका कारण ज्यान गुमाउने बाध्य छन् । १० प्रतिशतले आत्महत्या गरेका छन् । एक प्रतिशतको हत्या भएको छ भने ७ प्रतिशतको मृत्युको कारण खुलेको छैन ।