‘जनतालाई सुसूचित गराउन धारणा राखेको हुँ, अवहेलना गरेको छैन’

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वाेच्च अदालतमा आफ्नो लिखित जवाफ पेश गरेका छन् ।

आफूविरुद्ध लागेको अदालतको अवहेलना सम्वन्धी मुद्दाका सम्बन्धमा सर्वोच्चको आदेश अनुसार उनी अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् । आइतबार विहान ११ बजे सर्वोच्च अदालतमा जवाफ बुझाएर दाहाल फर्केका हुन् ।

नेकेपा विभाजनपछि आयोजित विरोध सभामा दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्‍याउने काम भयो भने लाखौं लाख जनता सडकमा उतारेर गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

सो मुद्दामा बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले दाहाललाई सात दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।