सेतो मच्छिन्द्रनाथको प्रवलीकरण सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका–३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य सुरु भएको छ । आइतबार बिहान मन्दिर परिसरमा आयोजित कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले प्रवलिकरण कार्यको संयुक्त रुपमा शिलान्यास गरे । २०७२ को भूकम्पबाट क्षतिग्रस्त यो मन्दिरको भारत सरकारको ६ करोड २६ लाख रुपैयाँ अनुदान सहयोगमा प्रवलीकरण हुन लागेको हो ।


सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारको करिब पाँच अर्ब ८० करोड रुपैयाँ (५० मिलियन अमेरिकी डलर) आर्थिक अनुदानअन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो । शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानै प्रविधि, परम्परागत निर्माण सामग्री प्रयोग गरेर मन्दिरको प्रवलीकरण गरिने बताए ।

भूकम्पबाट क्षतिग्रस्त ४६५ पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै उनले भारत सरकारको सहयोगमा पुनर्निर्माण हुने सम्पदाहरुको काम अगाडि बढ्ने जानकारी दिए । भारतीय राजदूत क्वात्राले नेपालका पुरातात्विक सम्पदा दुई देशको सम्बन्धमा आधारशीला भएको उल्लेख गर्दै यी सम्पदा संरक्षणमा गर्न पाउनु भारतका लागि खुशीको कुरा भएको उल्लेख गरे ।

सो अवसरमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले विभिन्न सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माणमा सहयोग गरिरहेको जानकारी दिए । सम्पदा पुनर्निर्माण तथा प्रवलीकरणको डिजाइन तथा पुरातात्विक अनुगमन पुरातत्व विभागले गर्दछ भने प्राधिकरणमातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले ठूला सम्पदाको कार्यान्वयन गराउँछ ।

यी सम्पदाहरु नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्डअनुरूप प्रवलीकरण गरिने छन् । सेतो मच्छिन्द्रनाथको मन्दिर १० औँ शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । यो मन्दिर सामाजिक, धार्मिक सहिष्णुताका लागि प्रख्यात छ । सेतो मच्छिन्द्रनाथलाई हिन्दू र बौद्घ धर्मावलम्बीले समान आस्थाका साथ पूजाआजा गर्दै आएका छन् ।