अर्को पार्टी नखोल्ने ट्रम्पको घोषणा

File Photo : (AP Photo/Evan Vucci)

फ्लोरिडा । अमेरिकी राष्ट्रपति पदबाट नियमित कार्यकाल पुरा गरी घर फर्किएका डोनाल्ड ट्रम्प आइतबार पहिलो पटक एक सार्वजनिक कार्यक्रममा उपस्थित भए । दोस्रो कार्यकालका लागि समेत निर्वाचन लडेका उनी पराजित भएका थिए । आफ्नो कार्यकालमा निकै आलोचित उनले पुनः नोभेम्बरको चुनावमा धाँधली भएको दोहोर्याए । आफ्नो हार नभएको समेत उनको भनाई छ ।

फ्लोरिडास्थित ओर्लान्डोमा आयोजित कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा ट्रम्पले यस्तो दावि गरेका हुन् । आफू रिपब्लिकन पार्टीको भविष्य भएको भन्दै उनले नयाँ पार्टी खोल्ने योजना नभएको स्पष्ट पारेका छन् । ६ जनवरीको दिन ट्रम्पका समर्थकले संसद भवनमा हंगामा गरे । त्यसपछि उनको पार्टी भित्रै व्यापक आलोचना भइरहेको छ ।

यसबीचमा उनले नयाँ पार्टी खोल्नेबारे तयारी गरेको समाचार आएका थियो । त्यो समाचारको ट्रम्प स्वयमले खण्डन गरेका हुन् । ट्रम्पले आफूले नयाँ पार्टी नखोल्ने तर, सन् २०२४ को राष्ट्रपति चुनावमा उठ्न सक्ने बताएका छन् । विपक्षीलाई आफुले तेस्रो पटक हराउन सक्ने भन्दै उनले आगामी निर्वाचनमा उठ्ने संकेत गरेका हुन ।

तेस्रो पटक भन्नुको मतलव सन् २०२० को निर्वाचन पनि आफुले नै जितेको उनको दावि छ । उनीविरूद्धको दोस्रो महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटबाट असफल भएको छ । त्यसकारण उनी २०२४ को चुनाव समेत लड्न सक्छन् ।