सम्हालियो नेपाली सेयरबजार, परिसूचक २५ सय विन्दुमाथि

काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । पछिल्लो एकसातामा १६६ अंकले घटेको बजारमा आज दोहोरो अंकको कमब्याक भएको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकम भने ह्वात्तै गिरावट आएको छ । आइतबार करिब साढे ८ अर्ब कारोबार भएकोमा आज त्यो घटेर पौने ६ अर्बमा सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ४०.६४ अंकले बढेर २५१५.०३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०९ कम्पनीको ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८३१ रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता सेयर किनबेच भएका छन् ।

सोमबार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३५९.१७ अंकले बढेको छ ।

कारोबारमा आएका २०९ कम्पनीमध्ये १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ४४ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै शिखर इन्स्योरेन्स ३० करोड र ग्लोबल आइएमई बैंक २३ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा आज एउटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरी हिल्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

बढ्दो बजारमा सिटिजन्स म्युचुअल फण्ड २ का सेयरधनीले सबैभन्दा धेरै १.८४ प्रतिशत गुमाएका छन् ।