भरतपुर । धुर्मुस सुन्तली फाउण्डेसनद्धारा चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ लाख सहयोग गर्ने दाताको नाम कुर्सीमा लेखिने भएको छ । फाउण्डेसनले रंगशाला निर्माण गर्न आर्थिक अभाव भोगिरहेको छ । यो समस्या समाधान गर्न नयाँ उपाय ल्याइएको हो । फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको छ । यो अभियानको नाम ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ दिइएको छ ।
यससँगै रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाइने भएको हो । कसैले आफू वा आफ्नो परिवारका सदस्यको नाम कुनै कुर्सीमा लेखाउन चाहे फाउण्डेसनलाई १ लाख रुपैयाँ सहयोग र्न सक्ने भएका हुन् । रंगशालामा ७ प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने कक्ष बन्ने भएका छन् । ‘हाम्रो रंगशाला मेरो कुर्सी’ अभियानमा जोडिने दाताले आफ्नो जिल्ला अन्तर्गत रहेको सिटमा नाम लेखाउन सक्ने भएका छन् ।
फाउण्डेसनका अनुसार यो अभियानबाट कम्तिमा ३० हजार कुर्सीमा नाम राख्न सकिने छ । यो अभियान सफल भएमा ३ अर्ब रुपैयाँ संकलनसमेत हुनेछ । चितवनमा भरतपुर नगरपालिकासंगको सहकार्यमा जनस्तरबाट रंगशाला निर्माण जारी छ ।
गौतमवुद्ध रंगशाला निर्माण गरिरहेको फाउण्डेसनले आज अहिलेसम्मको खर्च विवरण समेत सार्वजनिक गरेको छ । जसअनुसार अहिलेसम्म ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैंया २३ पैसा खर्च भएको छ । संकलन भने ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ ८० पैसा भएको छ ।
यसरी अहिलेसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ४३ पैसा ऋण लागेको फाउण्डेसनको भनाई छ । अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)का अनुसार मैदानमा ८५ प्रतिशत र प्याराफिटमा ३० प्रतिशत काम पुरा भएको छ । रंगशाला निर्माणको कुल लागत ३ अर्ब ५५ करोड अनुमान गरिएको छ ।