लण्डन । बेलायती महारानी एलिजावेथ द्वितीयाका ९९ बर्षीय श्रीमान् फिलिप बिरामी परेका छन् । बेलायती राजसंस्थाका ज्यूदो इतिहास मानिने राजदम्पत्ति वृद्ध अवस्थामा पनि बिरामी परेको खबर खासै सार्वजनिक भएको थिएन । तर, राजकुमार फिलिपको स्वास्थ्य अवस्थाबारे भने दरवारले नियमित जानकारी सार्वजनिक गरिरहेको छ । बेलायती संचारमाध्यमहरुक अनुसार उनको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार जारी छ ।
उनमा मुटुसम्वन्धी समस्या देखिएको छ । मुटुको परीक्षण भइसकेको छ । यद्दपी स्वास्थ्य अवस्थामा सुधार आएको छैन । हालै उनलाई शुरुमा भर्ना गरेको अस्पतालबाट स्थानान्तरण समेत गरिएको छ । लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई सरकारी अस्पताल सेन्ट बर्थोलोमेज अस्पतालमा सारिएको हो ।
मुटुको अवस्थाका बारेमा निगरानी गर्दै चिकित्सकले थप उपचार अगाडि बढाएको दरवारले जनाएको छ । राजकुमार फिलिप आगामी जुन १० एक सय वर्षमा पाइला टेक्दैछन् । महारानी एलिजावेथ द्वितीया ९४ वर्षकी भइन् ।