ताप्लेजुङको दोभानमा भिषण आगोलागीमा परी कम्तिमा ४७ घर जले, योगेशद्धारा सहयोग घोषणा

ताप्लेजुङ । ताप्लेजुङ पुनः एक पटक आगोलागीको घटनाका कारण पिडामा पर्यो । आज बिहान ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा लागेको आगोले कम्तिमा ४७ वटा घर जलेर नष्ट भएका छन् ।अहिले भने आगो नियन्त्रणमा आइसकेको छ । आगलागीका कारण मेरिङदेन गाउँपालिका–३, दोभान बजारका ४७ वटा घर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगो करिब दुई घण्टापछि स्थानीय, दमकल र सुरक्षा निकायका जनशक्तिले नियन्त्रणमा लिएका छन् । सदरमुकाम फुङलिङबाट पुगेको दमकल र एक्स्काभेटरको सहायताले बजारमा थप आगो फैलिनबाट रोकिएको थियो । आगो फैलन नदिन एक्स्काभेटर प्रयोगले केही कच्ची घर समेत भत्काएको छ ।

बस्तीतर्फको जोखिम कम भए पनि आगो नजिकैको जंगलतर्फ फैलिएको बताइएको छ। त्यसलाई समेत नियन्त्रणको प्रयास भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार ४७ वटा घरमा रहेका ७९ परिवार विस्थापित भएको बताइएको छ । बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभर फैलिएको हो।

यसैबीच ताप्लेजुङमा भएको आगोलागीको घटनाप्रति राष्ट्रपति र प्रधानमन्त्रीले दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले राहत दिने घोषणा गरेका छन् । ताप्लेजुङका सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईले भने तत्काल पिडितका लागि ५ लाख रुपैयाँ दिने घोषणा गर्दै थप राहतका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।