काठमाडौं । संसारमा सबैभन्दा बढी अर्बपति भएको मुलुक हो चीन । कोरोना भाइरसले विश्व आक्रान्त भएको समयमा पनि चीनको अर्थतन्त्रमा त्यति ठूलो प्रभाव परेन । किनकी चीनले कोरोना रोकथाममा कडा नीति लियो र त्यसलाई नियन्त्रण गर्न सफल भयो । त्यसपछि कोरोना सँग सम्बन्धित क्षेत्रको व्यापार थालेको चीनको आर्थिक वृद्धिसमेत यो वर्ष सबैभन्दा बढी भएको छ ।
तथ्यांक अनुसार अर्बपतिको संख्या तिब्र गतिमा बढ्ने मुलुकमा चीन र भारत नै अग्रस्थानमा छन् । अमेरिका दोस्रो स्थानमा झरेको छ । हालै सार्वजनिक भएको ग्लोबल रिच लिस्ट अनुसार भारत विश्वमा सर्वाधिक अर्बपति भएको मुलुकको तेस्रो स्थानमा आउन सफल भएको छ । भारतमा १ सय ७७ अर्बपति रहेका छन् । जसमा ६१ जना मुम्बई शहरमा मात्र बस्छन् ।
नयाँ दिल्लीमा ४० र बेंग्लौंरमा २२ जना अर्बपति रहेका छन्। विदेशमा रहेका भारतीय अर्बपति जोड्दा भारतका मात्र २ सय ९ जना पुग्ने तथ्यांक छ । चीनमा भने १ हजार ५८ जना अर्बपति रहेका छन्। यस वर्ष मात्रै चीनमा २ सय ५९ जना अर्बपतिको संख्या थप भएको छ ।
राजधानी बेइजिङमा १ सय ४५ जना अर्बपति छन्। सांघाईमा १ सय १३ जना अर्बपति रहेको सूचिमा उल्लेख छ । अमेरिका दोस्रो स्थानमा छ । यहाँ ६ सय ९६ अर्बपति छन्। एक वर्षमा अमेरिकामा ७० जना नयाँ अर्बपति थपिए । विश्वका सबैभन्दा बढी सम्पत्ति अमेरिकी नागरिक इलन मस्कसँग रहेको छ । उनको कुल सम्पत्ति १ सय ९७ बिलियन डलर रहेको तथ्यांक छ ।
भारतमा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी सबैभन्दा धनी व्यक्ति हुन । उनी विश्वका सबैभन्दा धनी व्यक्तिको ९ औं सूचीमा छन् । उनको सम्पत्ति ८३ अर्ब डलर पुगेको छ ।