काठमाडौं । गत साउनमा काठमाडौंको गोंगबुमा एक आततायी घटना सार्वजनिक भयो । जहाँ एक व्यक्तिको हत्यापछि टाउको, खुट्टा र जिउ काटेर टुक्रा पारेको अवस्थामा फेला पर्यो । यो घटना घटाउने अपराधी थिइन् कल्पना मुडभरी पौडेल । उनलाई प्रहरीले घटना भएको तेस्रो दिनमै पक्राउ गर्न सफल भएको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई जिवनभर जेल बस्नुपर्ने सजाय सुनाएको छ ।
यससँगै अब उनी जेलबाट मुत्त हुन पाउने छैनन् । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई आजीवन काराबासको सजाय सुनाएको हो । मुलुकी फौजदारी संहितामा ज्यानसम्बन्धी कसुर गर्नेलाई जन्मकैद अर्थात २५ वर्ष कैदको व्यवस्था छ । तर, कल्पनाको हकमा भने क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको पुष्टि भएको छ ।
सोहीकारण उनी आजीवन जेल बस्नु पर्ने भएको हो । यस घटनामा कल्पनाकी छोरीको भने संलग्नता नदेखिएको भन्दै अदालतले सफाइ दिएको छ। कल्पनाले छोरीलाई लास बोक्न प्रयोग गरेकी थिइन् । गोंगबुको गणेशस्थान नजिक गत साउन २५ मा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको हो ।
कल्पना मुडभरी पौडेलको कोठामै उनको हत्या भएको हो । राति हत्या गरी टाउको र खुट्टा एउटा झोला र जीउ सुटकेसमा राखेर सडकको छुट्टाछुट्टै स्थानमा फालेको अवस्थामा फेला परेको थियो ।