काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सदर चिडियाखाना जावलाखेलमा घुमफिरमा निस्किए । उनले चिडियाखानाको करीव सबै तिर घुमे र जनवारहरुको अवलोकन गरे । सो अवसरमा उनले एकसिंगे गैंडाको अभिभावकत्व समेत ग्रहण गरे । चिडियाखानामा वन्यजन्तुको अभिभावकत्व अभियानको प्रधानमन्त्रीबाट आज शुभारम्भ गराइएको छ ।
यस अभियान अन्तर्गत नेपाल सरकारले एक वर्षसम्म गैंडाका लागि चाहिने सबै खर्च बेहोर्नेछ । त्यसमध्ये ११ महिना सरकारको खर्च लाग्ने छ भने १ महिना प्रधानमन्त्री ओलीले व्यक्तिगत खर्च बेहोर्न प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना व्यवस्थापन गरेको २५ वर्ष पूरा भएको अवसरमा यो अभियानको थालेको हो । विश्वमै दुर्लभ प्राणी एकसिंगे गैंडाको संरक्षण गर्ने उद्देश्यले यस्तो अभियान थालिएको हो ।
आज विश्व वन्यजन्तु दिवस समेत हो । दिवसको यस वर्षको नारा ‘जंगल र जीविकोपार्जनः प्राणी र पृथ्वीको दीर्घकालीन अवस्थिति’ राखिएको छ । विश्वका वन्यजन्तु तथा वनस्पतिको दिगो संरक्षणका लागि जनचेतना फैलाउन सन् २०१३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाबाट हरेक वर्ष मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउने घोषणा गरिएको हो ।