काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ करोड पुगेको छ । गत आर्थिक वर्ष २०७६\७७ सम्म नेपाली अर्थतन्त्रको आकार उक्त अवस्थामा पुगेको तथ्याङ्क विभागले जनाएको छ । विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणनाको आधार वर्ष समेत यो वर्षबाट परिमार्जन गरेको छ । नेपालले यसअघि सन् २०००-२००१ लाई आधार वर्ष मानेर राष्ट्रिय लेखा तथ्याङ्क निकाल्ने गरेको थियो । अब भने राष्ट्रिय लेखा तथ्याङ्कको गणनाका लागि सन् २०१०-११ लाई आधार वर्षका रुपमा मानिएको छ ।
यसअघि नेपालले आधार मानेको वर्षका आधारमा नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँको रहेको थियो । नयाँ आधार वर्ष अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १४.०७ प्रतिशतको वृद्धि भएको विभागले जारी गरेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७५\७६ को तुलनामा भने गत आवको अर्थतन्त्रको आकारको वृद्धिदर भने ५ प्रतिशत मात्र हो ।
आर्थिक वर्ष २०७६\७७ मा नेपालको आर्थिक वृद्धिदर भने माइनसमा पुगेको छ । यसो हुनुमा कोरोना भाइरसको महामारी मूख्य कारण मानिएको छ । गत आवको अन्तिम त्रैमास र चालु आवको पहिलो त्रैमास अर्थतन्त्रमा गतिविधिहरु करीव ठप्प भए । यसले आर्थिक वृद्धिदरमा नकारात्मक प्रभाव पार्यो ।
तथ्याङ्क अनुसार गत आवको वाषिर्क आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएको छ । अघिल्लो आवको अन्तिम त्रैमासमा माइनस १५.४ प्रतिशतको वृद्धिदर रहेकोमा चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो त्रैमासकको आर्थिक वृद्धि माइनस ४.६ प्रतिशत रहेको छ । यो वर्ष नेपालको प्रतिव्यक्ति आय ११३४ अमेरिकी डलर पुगेको छ । यो अघिल्लो आव २०७५\७६ को तुलनामा कम हो । सो आवमा प्रतिव्यक्ति आय ११५९ डलर थियो ।