काठमाडौं । दुई वर्षयता भूमिगत रहेका नेत्रविक्रम चन्द्र विप्लव आज काठमाडौंमा सार्वजनिक हुँदैछन् । सरकारसँग तीन बुँदे सहमति गरेपछि विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभागृहमा एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन् । राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे विप्लव सार्वजनिक हुने कार्यक्रम छ । आज नै प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ ।
सरकार र विप्लव समूहबीच विहीबारको वार्तापछि सार्वजनिक भएको प्रेस नोटमा तीन बुँदे सहमति भएको बताइएको छ । सहमतिलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो । वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको हो । सरकारले समुहमाथिको प्रतिबन्ध हटाउने र बन्दीलाई रिहा गर्ने तथा मुद्दा खारेजी प्रक्रिया शुरु गरिसकेको छ ।