काठमाडौं । हवाई यात्राका दौरान अन्तराष्ट्रिय उडानमा अधिकांश एयरलाइन्समा इन्टरनेट सुविधा उपलब्ध हुन्छ । तर, नेपाली आकासमा छिरेपछि भने यो सुविधा बन्द हुन्छ । नेपाल दूरसंचार प्राधिकरणले विदेशी एयरलाइन्सले नेपाली आकाशमा जहाज उडाउँदा इन्टरनेट सुविधा प्रयोग गर्न पाउने गरी सुविधा दिने तयारी गरेको छ ।
नेपालको सरकारी समाचारपत्र गोरखापत्रका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग गर्न पाउने गरी सुविधा दिने तयारी थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सहमति प्राप्त विदेशी एयरलाइन्सले यात्रुलाई यस्तो सुविधा उपलब्ध गराउन सक्ने गरी नियम बनाइने भएको छ ।
उड्डयन प्राधिकरणबाट सहमति ल्याएमा दूरसंचार प्राधिकरणले सुविधा दिने भएको हो । विदेशी जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सेवासम्बन्धी प्रस्ताव यति बेला प्राधिकरणको बोर्डमा प्रस्तावित रहेको समेत गोरखापत्रले लेखेको छ । बोर्डबाट प्रस्ताव पारित हुनासाथ जहाजमा इन्टरनेट प्रयोग गर्न पाउने सुविधा खुल्ने छ ।
भारतले सन् २०१८ बाटै भारतीय आकाशमा विदेशी तथा भारतीय जहाजका लागि इन्टरनेट तथा फोन कलको सुविधा उपलब्ध गराइसकेको छ । यस्तो अभ्यास विदेशमा भने एक दशकयता नै जारी छ । नेपाल उडान गरिरहेका कतार, सिङ्गापुर, इत्तिहादसहितका विश्वस्तरीय एयरलाइन्समा यो सुविधा छ । तर, ती जहाज जब नेपाली आकासमा छिर्छन्, त्यसपछि सेवा बन्द हुन्छ ।