आफ्नै निर्वाचन क्षेत्रमा अर्थमन्त्री पौडेलमाथि स्थानीयले गरे ढुंगामुडा

बुटवल । अर्थमन्त्री विष्णु पौडेलविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा ढुंगामुडा भएको छ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा पुगेका उनीमाथि प्रभावित स्थानीयवासीले नाराबाजी गर्दै ढुंगा प्रहार गरेका हुन् । आज कडा सुरक्षा घेरामा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास भएको थियो । त्यसपछि अर्थमन्त्रीले भाषण शुरु गरेलगत्तै स्थानीयबाट स्टेजमा ढुंगा प्रहार शुरु भयो ।

नाराबाजी र होहल्लाका बीच भाषण दुई मिनेटमै सकेर अर्थमन्त्री भाग्नु परेको छ । अर्थमन्त्रीलाई भूमाफियाको आरोप लगाउँदै स्थानीयले लखेटेका हुन् । उनीहरुले यो जग्गा वालुवाटार नभएको भन्दै विरोध गरेका हुन् । मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार भएपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो ।

प्रहरीको कुटपिटबाट तीन जना घाइते भएका छन् । दुईजनालाई नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । अर्थमन्त्रीले भाषणा गर्नु अगाडी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्तव्य राखेका थिए ।

स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड समेत भत्काएका छन् । स्थानीयले बिहीबार नै शिलान्यास कार्यक्रमका लागि तयार गरेको स्टेज भत्काएका थिए । तर, जबर्जस्ती अर्थमन्त्रीले प्रहरी घेरामा कार्यक्रम राखेपछि स्थानीय आक्रोसित बनेका हुन् ।

मोतीपुरमा स्थानीयले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गा, विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बन्न लागेपछि विरोध शुरु भएको हो । स्थानीयसंग गरेका प्रतिवद्धता विपरीत अपारदर्शी ढंगले काम अघि बढाएको भन्दै स्थानीयले औद्योगिक क्षेत्र बन्न नदिने बताएका छन् ।

औद्योगिक क्षेत्र निर्माणमा करिब १२ अर्ब रुपैयाँ लागत अनुमान छ । कार्यक्रम स्थलबाट स्थानीयको लखेटाइमा परेका अर्थमन्त्रीले भने प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पुगी पत्रकार सम्मेलन गरेका थिए । उनले खुला रुपमा अगाडी आएर विरोध गर्न चूनौति दिँदै स्थानीयको नाममा पर्दा पछाडीबाट विरोध भइरहेको बताए ।