काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई फकाउन पुनः कसरत थालेका छन् । उनी आज साँझ गौतमलाई भेट्न निवास भैंसेपाटीमै पुगेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओली भैंसेपाटी पुगेर बामदेवसँग नेकपा विवादका विषयमा छलफल गरेका हुन् ।
बामदेव अहिले ओली र प्रचण्ड कुनै पनि पक्षमा खुलेका छैनन् । दुबै पक्षले उनलाई तान्न भने प्रयास गरिरहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र गौतमबीचको भेटको तस्वीर सार्वजनिक गरेका छन् । उनका अनुसार प्रधानमन्त्री ओली गौतमको स्वास्थ्य स्थिति बुझ्न भैंसेपाटी गएका हुन् ।
यसअघि पनि नेकपा विवाद उत्कर्षमा रहेको समयमा साउनमा ओली बामदेवलाई भेट्न निवासमै पुगेका थिए । रक्षात्मक अवस्थामा पुगेका ओलीले अहिले सत्ता बचाउन अन्तिम प्रयास जारी राखेका छन् ।