काठमाडौं । आज मेलम्चीको पानी काठमाडौं झारिदैछ । दुई साता अगाडी नै सुरूङमा पठाइएको पानी आज काठमाडौंस्थित सुन्दरीजलमा झार्न लागिएको हो । सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी सुरूङमार्गमार्फत पहिलो पटक काठमाडौं आएको हो । निर्माण थालेको दुई दशकपछि काठमाडौं बासीको पानीको तिर्खा मेट्ने सपना पुरा हुने समय भने नजिकिएको छ ।
आयोजनाको मुहानबाट सुरूङमा परीक्षणका लागि छाडिएको पानी आज दिउँसोसम्म सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झरिसक्ने आयोजनाको भनाई छ । आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो रहेको छ । सुन्दरीजलमा पानी झरेको हेर्न प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम रहेको छ । आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरुङमा पानी छाडेको हो । यो दोस्रो प्रयासमा सफल हुन लागेको हो ।
यसअघि असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको हो । सुरुङमा आएको मेलम्चीको पानी सुन्दरीजलस्थित केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण हुनेछ । सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउने भएका छन् ।
आयोजनाका अनुसार सुरुङमार्गबाट झर्ने पानीलाई बागमतीमा बगाउने तयारी छ । जसले गर्दा आज बागमतीको समेत सतह बढ्न सक्छ ।