बुटवल । रूपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोर शिलान्यास गर्न पुगेका अर्थमन्त्री विण्णु पौडेल तथा उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले लखेटे । खासगरी स्थानीयसँग समन्वय नगरी एकलौटी रुपमा आयोजना अगाडी बढाउन खोजेपछि यहाँ विवाद शुरु भएको हो । स्थानीयले विरोध गर्दै शुक्रबार अर्थमन्त्री विष्णु पौडेलमाथि लक्षित गरी ढुंगा वर्षाएका थिए ।
यो मुद्दामा उक्त क्षेत्रका अर्का सांसद तथा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेता घनश्याम भुसालले भने आफु स्थानीयको साथमा रहेको र उनीहरुको मागमा समर्थन रहेको बताएका छन् । भुसालले स्थानीयसँग सामान्य छलफल पनि नगरी सरकारका दुई,दुई जना मन्त्रीको दमनपूर्ण हर्कतकै कारण घटना हुन पुगेका बताएका हुन् । यसबाट सरकारको जनविरोधी मुकुण्डो उदाङ्गो भएको भुषालको भनाई छ ।
करिब साढे चार दशकदेखि बसोबास गर्दै आएका जनताको उचित व्यवस्थापनको विकल्प नदिईं, उनीहरुसँग सामान्य छलफल नगरी, वातावरणीय प्रभाव मुल्यांकन समेत नभएको र केवल राजनीतिक प्रचारका लागि देखाइएको मोतिपुर औद्योगिक करिडोर शिलान्यासका नाममा दमनपूर्ण हर्कत गरिएको उनको भनाई छ ।
यसअघि अर्थमन्त्री पौडेलले भने पर्दा पछाडीबाट नभई सामुन्ने आएर विरोध गर्न आह्वान गरेका थिए । लगत्तै घनश्यामको विज्ञप्ती सार्वजनिक भएको हो । वातावरणीय प्रभाव मुल्याङ्कन गरेपछि स्थानीय वासिन्दाको व्यवस्थापन गरेर मात्रै अरु काम अगाडि बढाउने विषयमा उद्योगमन्त्री, औद्योगिक व्यवस्थापन लिमिटेडका अधिकारीसँग भएको सहमतिसमेत तोडेर ढल्दै गरेको सरकारका मन्त्रीले सयौं सुरक्षकर्मीका घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको नांगो नाच नाचेको घनश्यामले बताए ।