ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएका १३ देशका नागरिकलाई भिसाका लागि पुनः आवेदन दिन आह्वान

एजेन्सी । अमेरिकी विदेश विभागले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले १३ देशका नागरिक माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रतिबन्ध फुकुवासँगै १३ देशका नागरिकहरुले भिसाका लागि पुनः आवेदन दिन पाउने भएका छन् ।

अधिकांश मुस्लिम बाहुल्‍य तथा अफ्रिकी देशका नागरिक थिए। राष्ट्रपति जो बाइडनले आफूले पदभार ग्रहण गरेको पहिलो दिनमा ट्रम्पले लगाएको प्रतिबन्धलाई खारेज गरेका थिए । विभागले भनेको छ, ‘ट्रम्पका कारण ज-जसलाई अमेरिका आउनका लागि भिसा प्रतिबन्ध लगाइएको थियो। उनीहरुलाई अमेरिका आउने दोस्रो मौका दिनेछौँ। खासगरी मुस्लिमहरु पुन: आवेदन दिन सक्‍नेछन्।’

अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भनेका छन्, ‘जुन आवेदनको २० जनवरी २०२० भन्दा पहिला भिसा दिनबाट रोकिएको थियो, उनीहरुले नयाँ आवेदन दिनुपर्छ र नयाँ आवेदन शुल्क बुझाउनु पर्नेहुन्छ।’

यसका साथै रद्द गरिएका आवेदनमाथि पनि पुनर्विचार गर्न सकिने तर त्यसका लागि अतिरिक्त शुल्क लाग्‍ने प्रवक्ताले बताएका छन्।

अमेरिकी विदेश विभागको तथ्यांक अनुसार यात्रा प्रतिबन्धका कारण करीब ४० हजार मानिसहरु अमेरिका प्रवेश गर्नबाट बञ्‍चित भएका थिए।

ट्रम्प प्रशासनले इरान, लिबिया, सोमालिया, सुडान, सिरिया तथा यमनसहित १३ देशबाट आउने यात्रीहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

तर सन् २०१७ डिसेम्बमा अमेरिकाको सर्वोच्च अदालतले उक्त फैसलालाई रोकिदिएको थियो।