महाशिवरात्रीमा मास्क नलगाए पशुपतिनाथ दर्शन गर्न नपाइने

Photo: THT

काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शनमा जाने सबै जनाले मास्क अनिवार्य पहिरिनु पर्ने भएको छ । कोरोना महामारी अझै पनि जारी रहेका कारण संक्रमण फैलन नदिन यस्तो नियम बनाइएको पशुपति क्षेत्र विकास कोषको भनाई छ । अनिवार्य मास्क लगाएर आउन र मास्क नलगाए दर्शन गर्न नपाइने कोषको भनाई छ ।

महाशिवरात्रिको तयारी पुरा भएको समेत कोषले जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै कोषले यस्तो जानकारी गराएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार कोभिड महामारीको अन्त्य नभए पनि सदाझैँ महाशिवरात्रि यसपटक पनि भव्यताको साथ मनाउने तयारी गरिएको छ । शिवरात्री बिहीबार मनाइने छ ।

ढकालका अनुसार दर्शनार्थीले अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने भएको छ । स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ । मेलालाई सुरक्षित बनाउन नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।


नेपाल स्काउटका समेत गरी ४ हजार स्वयमसेवक परिचालन हुने छन् । मन्दिर नजिकैको गेटमा स्वास्थ्य शिविर राखिने छ । सुरक्षाकर्मीसमेतका कुल ३० वटा स्वास्थ्य संस्थाका शिविर यहाँ राखिने भएको छ । भारतबाट करिब ३ हजारको हाराहारीमा बाबा मेलामा भाग लिन आएका छन् ।