लण्डन । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले बेलायती राजपदवी त्याग गरी अलग भएका छन् । उनीहरु राजदरबार छोडेर पहिला क्यानडा पुगे, त्यसपछि एक धनाढ्यको सहायतामा अमेरिका पुगेर त्यही बसोबास गरिरहेका छन् । बेलायतकी महारानी एलिजावेथका नाती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले यसै साता अमेरिकामा एक दिएको एक अन्तर्वाता बहुचर्चित बन्यो । जहाँ मर्केलले राजदरबारमा आफुले भोग्नु परेको पिडा र विभेदबारे खुलेर बताएकी छिन् ।
यस अन्तर्वार्तापछि दरवारको प्रतिक्रिया नआएको भन्दै आलोचना शुरु भएको थियो । अन्ततः महारानी एलिजावेथले मुख खोलेकी छिन् । उनले राजदरबारमा भोग्नुपरेको विभेदबारे दुःख मनाउ गरेको बेलायती संचारमाध्यमले लेखेका छन् । महारानीको तर्फबाट मंगलबार विज्ञप्ति जारी गर्दै बकिङ्हम प्यालेसले ह्यारी र मेघनका लागि बितेका केही वर्ष कठिन थिए भन्ने थाहा पाएर राजपरिवार दुःखित भएको उल्लेख गरेको छ ।
ह्यारी र मेघनले सार्वजनिक गरेको एक विषय रंगभेद थियो । राजदरवार भित्र यो जोडीबाट जन्मने बच्चा कालो रंगको हुने र उसलाई राजकुमार मान्न कठिन हुने सम्मका कुरा हुने गरेको विषय अन्तर्वार्ताका क्रममा सार्वजनिक भएको छ । यसरी बाहिरिएका विषयलाई गम्भीरतापूर्वक लिएर समाधान गरिने दरवारको भनाई छ । महारानी एलिजावेथले ह्यारी, मेघन र उनीहरूका छोरा आर्चीप्रति राजपरिवारकै सदस्यका रूपमा सधैँ माया दिइरहने समेत उल्लेख गरेकी छिन् ।
ह्यारी र मेघनको अन्तर्वार्ता अमेरिकी टेलिभिजन च्यानल सिबिएसमा सोमबार प्रसारण भएको हो । यस क्रममा मेघनले राजपरिवार भित्र रहेको रंगभेदले आफूलाई आत्महत्या गर्ने अवस्थासम्म पुर्याएको बताएपछि संसारभर दरवारको विषयबारे कडा बहस जारी छ । मेघन अमेरिकी अभिनेत्री पनि हुन् । उनले सन् २०१८ मा ह्यारीसँग विवाह गरेकी हुन् ।
मेघन अश्वेत आमाबाट जन्मिएकी हुन् । राजपरिवारमा रंगभेदबारे कुरा कसले गरेको थियो भन्ने विषय भने आफुले जिन्दगीभर नबताउने ह्यारीको भनाई छ । बिवाहपछि राजपरिवारबाट आर्थिक सहयोग नपाएपछिको पिडा समेत उनीहरुले सार्वजनिक गरेका छन् । उनीहरुले अन्तर्वार्तामा महामारी भने आफुहरुको आदर्श भएको भन्दै उनीबाट सधै माया मात्र पाएको बताएका छन् ।