न्यूयोर्क
४२ बर्षपछि अकस्मात बिद्युत आपूर्ति बन्द हुँदा अन्धकार हुन पुगेको न्यूयोर्कको म्यानह्याटन सहरमा आईतबार बिहान उज्यालो हुनुभन्दा पहिला नै बिद्युत आपूर्ति सामान्य भएको छ । हिजो शनिबार साँझ अकस्मात बिद्युत आपूर्ति बन्द हुँदा केही घण्टासम्म २४ घण्टा धपक्कै बल्न्ने टाईम्स स्क्वायर अन्धकारमा हरायो । हजारौं यात्रुहरु रेलको डिब्बा एलिभेटर भित्र अड्किए । असक्त र बिरामीहरुलाई अग्ला भवनको टुप्पोमा रहेका अपार्टमेन्टसम्म पुग्न मुस्किल भएका कारण ९११ मा हजारौं फोन कल आएका थिए । सडकका हरेक इण्टरसेक्सनमा ट्राफिक लाईट नबल्दा जनता नै बसेर ट्राफिकको काम गरेको दृष्य न्यूयोर्क सहरको लागि निकै नौलो थियो । चर्चित ब्रोडवे शोको बिचमा बत्ती निभ्दा मानिसहरु सडकभरी जम्मा भएका थिए भने म्याडिसन स्क्वायर गार्डेनमा चल्दै गरेको जेनिफ़र लोपेजको कन्सर्ट रद्ध भई भोली सोमबार साँझको लागि तय गरिएको छ । केही घण्टाको फरकमा बिद्युत आपूर्ति सुचारु हुँदा मानिसहरुले खुसियाली समेत मनाएका थिए ।
आईतबार साँझदेखि गएको बिद्युत आपूर्ति मध्यरात पछि पुर्णरुपमा सुचारु भएको अधिकारीहरुले बताएका छन् । मिड टाऊन र अपर वेष्टसाईड म्यानह्याटनको संपूर्ण भागमा बत्ती जाँदा ७२ हजार ग्राहक संख्यामा प्रभावित भएको कनएडिसनले जनाएको छ । यद्यपी कोही पनि घाईते भएको सुचना प्राप्त भएको छैन ।
सन् १९७७ को जुलाई १३ कै दिन न्युयोर्कमा २५ घण्टा बिद्युत आपूर्ति बन्द हुँदा हजारौं ठाँऊमा अपराधका घटना घटेको थियो ।