काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सुनको आपूर्ति कोटा बढाउने आश्वासन दिएका छन् । यस विषयमा सरकार सकारात्मक रहेको उनको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको आश्वासन दिएका हुन् ।
बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको भन्दै उनले केही दिनभित्रै यस बिषयमा निर्णय हुने समेत जानकारी गराए । माग र आपूर्तिवीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै मन्त्री पौडेलले बजारको अहिलेको वास्तविक मागका बिषयमा व्यवसायीसँग चासो राखेका थिए । त्यसक्रममा महासंघका सल्लाहकार तथा सभासद छविलाल बिश्वकर्माले व्यवसायीलाई परेको अप्ठ्याराका विषयमा अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण गराएका थिए ।
उक्त अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको बताए । उनले यो समस्या तत्काल समाधान गर्न मन्त्री पौडेलसँग आग्रह गरे । उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिले समस्या आएको उल्लेख गरे । अहिले बजारमा दैनिक ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता औल्याए ।
आवश्यकताअनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको अर्थमन्त्रीलाई उनले जानकारी गराए । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ ।
लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । यसैवीच आगमी आर्थिक बर्षको बजेटमा सुनचाँदीको क्षेत्रवाट समुट्नुपर्ने बिषयहरुलाई समेटिएको सुझाव समेत अर्थमन्त्री पौडेललाई बुझाइएको छ ।