प्रत्येक अमेरिकीले १४ सय डलर पाउने विधेयकमा शुक्रबार लालमोहोर लगाउँदै बाइडेन

न्यूयोर्क

राष्ट्रपति जो बाइडेनले बार्षिक ८० हजार डलरभन्दा कम आय भएका प्रत्येक अमेरिकीलाई १४ सय डलर राहत दिने विधेयकमा शुक्रबार लालमोहोर लगाउने भएका छन् । मार्च महिनाभरमै अमेरिकीको हातमा उक्त रकम बराबरको चेक पठाउने समेत बाइडेनले जनाएका छन् ।

अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट दुई दिन अघि पारित विधेयकलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले बुधबार सदर गरेको थियो । अब राष्ट्रपति बाइडेनको लालमोहोरसँगै विधेयकले औपचारिक कानूनको हैसियत पाउनेछ ।

अमेरिकी रेस्क्यु प्याकेज नाम दिइएको कुल १.९ ट्रिलियन डलरको विधेयकको पक्षमा कुनै रिपब्लिकन सिनेटर एवं हाउस अफ रिप्रिजेन्टेटिभले साथ दिएनन् । रिपब्लकिन पार्टी प्रष्ट विपक्षमा रहे पनि अमेरिकी जनताले यो विधेयकलाई उत्साहका साथ समर्थन गरेका छन् । मत सर्वेक्षणहरुमा ६० प्रतिशत बढि अमेरिकी विधेयकको पक्षमा देखिएका हुन् ।

राष्ट्रपति पद सम्हाल्नु अघि नै कोरोना भाइरसले धर्मराएको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन भन्दै बाइडेले यो प्याकेज प्रस्ताव गरेका थिए । जसमा प्रत्येक अमेरिकीलाई नगद १४ सय डलर दिने अलावा मासिक ३०० डलरको बेरोजगार भत्तालाई सेप्टेम्बरसम्म धकेल्ने, छ बर्षभन्दा साना बच्चा रहेका अविभावकलाई बार्षिक ३६ सय एवं सात देखि १७ बर्षसम्मका बालबालिकालाई बार्षिक तीन हजार डलर राहत दिने लगायतका प्रावधानमा समेटिएका छन् ।

त्यस बाहेक विद्यालय खुलाउन, कोरोना भाइरस विरुद्धको खोप विस्तार गर्न एवं साना व्यवसायलाई सहायता प्रदान गर्न पनि ठूलो रकम छुट्याएको छ । अमेरिकी इतिहासमै संकटसँग जुध्न सरकारले ल्याएको यो दोस्रो ठूलो आर्थिक प्याकेज हो । यस अघि गतबर्ष कोरोना भाइरसबाट जोगिन सरकारले लगाएको ‘लकडाउन’ पछि पुगेको आर्थिक क्षति निवारणका लागि दुई ट्रिलियन डलरको प्याकेज ल्याइएको थियो । त्यसबेला प्रत्येक अमेरिकीले १२ सय डलर नगद राहत समेत पाएका थिए । गत नोभेम्बरको चुनाव पछि ल्याइएको अर्को राहत प्याकेजमा अमेरिकी सर्वसाधारणलाई ६ सय डलर दिइएको थियो । यसपालीको प्याकेजमा बालबालीका एवं आश्रीतले समेत समान १४ सय डलर पाउनेछन् ।