जावा इण्डोनेसिया । इण्डोनेसियामा एक पर्यटक बस दुर्घटनामा परी कम्तिमा २६ जनाको मृत्यु भएको छ । ३५ भन्दा बढी घाइते छन् । यहाँको जावा द्वीपमा पर्यटक सवार बस दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले जनाएका छन् । घटना बुधबारको हो ।
स्थानीय पुलिस प्रमुख एको प्रासेत्यो रोब्बियांतोका अनुसार यो बस पश्चिमी जावास्थित सुबांग शहरबाट इस्लामी माध्यमिक स्कूलका विद्यार्थी र अभिभावकलाई लिएर सोही प्रान्तको तासिकामलय जिल्लाको एक तीर्थस्थल जाँदै थियो । बस सडकबाट १३ मिटर तल खसेको थियो ।
घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले दुर्घटनाको कारणबारे खोजी गरिरहेको बताएको छ । घाइतेहरुले भने बसको ब्रेक फेल भएको बयान दिएका छन् । मृत्यु हुनेमा बसका चालक समेत छन् ।