काठमाडौं । वैदेशिक रोजगारीमा गएर सीप सिकी त्यसलाई स्वदेशमा उपयोग गरेका ७ उद्यमीलाई सरकारले पुरस्कृत गरेको छ ।
विदेशमा सिकेको सीपलाई उपयोग गरेर उनीहरु स्वरोजगार मात्र बनेनन्, थप नेपाीलाई विदेश जानबाट रोक्ने गरी स्वदेशमै रोजगारी सिर्जनामा पनि उत्तिकै भूमिका निर्वाह गरेका छन् ।
देशभरबाट ७ जना उदाहरणीय उद्यमी छनोट गरी पुरस्कृत गरिएको हो । स्वदेशमा रोजगारी सिर्जना तथा स्वरोजगारतर्फ युवालाई आकर्षित गर्न यो सम्मान गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले उनीहरुलाई सम्मान गरेका हुन् । दुवईबाट फर्किएर कुखुराको चल्ला उत्पादन गरिरहेका नवराज पौडेलले उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कार प्राप्त गरे ।
कान्तिपुर पोल्ट्री ब्रिडिङ उद्योग सञ्चालन गरीेका उनले ४८ जनालाई रोजगारी दिएका छन् । उनलाई सरकारले १ लाख नगद पुरस्कृत प्रदान गर्दै सम्मान गर्यो ।
दक्षिण कोरियाबाट फर्किएर स्टिल उद्योग सञ्चालन गरेका दीपक चापागाई, गार्मेन्ट उद्योग सञ्चालक मनोजकुमार भारती र गार्मेन्ट उद्योग नै सञ्चालन गरेका त्रिलोक पनेरुलाई जनही ५० हजार रुपैयाँबाट सम्मान गरियो ।
दुबईबाट फर्किएर पशुपालन तथा तरकारी खेती गर्ने शर्मिला अधिकारी पनि उद्यमी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भईन् । उनले पनि नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
दुबई, र मलेसियाबाट फर्किएर अर्गानिक खेती गर्ने निरबहादुर राउत, एकबहादुर सिङताङले संयुक्त रुपमा उद्यमी राष्ट्रिय पुरस्कार पाए ।