अमेरिकामा नेपाली उवर चालकमाथि दुर्व्यवहार गर्ने युवती पक्राउ

काठमाडौं । अमेरिकामा नेपाली उवर चालक सुभाकर खड्कामाथि तीन जना युवतीले गरेको दुर्व्यवहार अहिले विश्वभर चर्चाको विषय बनेको छ । खासगरी एसियाली मुलकै भएका कारण उनीमाथि दुर्व्यवहार भएको भन्दै आलोचना भइरहेका बेला खड्कामाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छिन् । अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार भएको थियो ।

प्रहरीका अनुसार बिहीबार २४ वर्षीया मलेसिया किङ नाम गरेकी युवति पक्राउ परेकी छिन् । घटना गत आइतबारको हो । चालक खड्काले ट्याक्सीमा युवतिलाई फेस मास्क लगाउन भनेका थिए । उवरमा रहेको भिडियो अनुसार चालकको आग्रहलाई ती यात्रुले नमानी उल्टो दुर्व्यवहार गरेका छन् । सार्वजनिक भएको भिडियो अनुसार ती युवतीले मास्क लगाउन आग्रह गरेको रिसको झोँकमा खड्काको मुखमा पटकपटक खोकेकी थिइन् ।

चालक खड्काको मोबाइल खोस्ने प्रयास गर्दै उनले चालकको मास्क समेत छिनाइदिएकी छिन् । उबरको नियमअनुसार ट्याक्सी चढ्ने सबैले मास्क अनिवार्य लगाउनुपर्छ । ती तीन जना युवति ट्याक्सी चढ्दा एक जनाले मास्क लगाएकी थिइनन् । खड्काले नियमअनुसार मास्क लगाउन आग्रह गरेका थिए ।

युवतीले मास्क आफूसँग नभएको भनेपछि चालकले मास्क किन्न ट्याक्सी ग्यास स्टेसन तर्फ मोडेका थिए । ग्यास स्टेसन नपुग्दै युवतिहरुले चालकमाथि दुर्व्यवहार गरेका थिए । चालक खड्काले मास्क नलगाई ट्याक्सीमा राख्न नसक्ने बताएसँगै उनीहरुले हिँड्ने बेलामा खड्काको आँखामा पोल्ने खालको रसायन समेत छर्किएको पुष्टी भएपछि ती युवति पक्राउ परेकी हुन् ।

घटनापछि खड्काले सन्फ्रान्सिस्को प्रहरीमा उजुरी दिएका थिए । खड्काले आफुले विनम्रतापूर्वक आग्रह गर्दा समेत दुव्र्यवहार भएको र आफु एसियन मुलको भएकै कारण यस्तो व्यवहार भएको गुनासो समेत गरेका थिए । खड्का आठ वर्षदेखि अमेरिकामा छन् । उता, उबरले समेत ती तीन जना युवतीमाथि आजिवन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साथै कम्पनी कुनै पनि किसिमको रंगभेदी र कुनै पनि समुदायमाथि घृणा फैलाउने प्रकारका कार्यको विरोधमा रहने समेत स्पष्ट पारेको छ ।
एजेन्सी