जसपाले जित्ने देखिएपछि सरकार बनाउन तात्तिएको हो कांग्रेस ?

काठमाडौं । जनता समाजवादी पार्टीको समर्थन लिन नेकपा एमाले ओली पक्ष र माओवादी केन्द्रले प्रयास गरिरहेका छन् । जसपा निर्णायक बन्ने अवस्थामा कांग्रेसले नयाँ सरकारको गठनको पहल थाल्ने निर्णय गरेको छ । पार्टीका देउवा र पौडेल दुबै खेमाले एक स्वरमा प्रधानमन्त्रीमा दावेदारी गर्ने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्न देउवालाई आग्रह गरेका छन् ।

पहिलो पटक नेकपा भित्रको विवाद र अहिले जनता समाजवादी पार्टी (जसपा) को अन्तरिक मतभेदलाई कारण देखाउँदै देउवा भने पर्ख र हेरको अवस्थामा छन् । अहिले एमालेको ओली पक्षबाहेक सबै दल प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । सोही अनुसार जोडघटाउ पनि सुरु भएको छ ।

अहिले माओवादी केन्द्रले कांग्रेसको नेतृत्व स्वीकार गरी एमालेबाहेकका दलको सहभागितामा सरकार बनाउन चाहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्री नबन्ने तर देउवालाई प्रधानमन्त्रीमा स्वीकार गर्ने बताइसकेका छन् । देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले सरकार गठनको पहल लिन देउवालाई आग्रह गरेको छ ।

शुक्रबारको बैठकमा जसपाका मागका सम्बन्धमा समेत छलफल भएको बताइएको छ । वर्तमान प्रधानमन्त्रीबाट स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसक्ने निष्कर्ष निकाल्दै कांग्रेस नेताहरुले अब चुनावी सरकारको नेतृत्व गर्ने मौका गुमाउन नहुने सुझाव समेत दिएका छन् । यस अवस्थामा भने कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बन्ने छ । एमाले प्रतिपक्षमा बस्नुपर्ने छ ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक पछि भने कांग्रेसका शीर्ष नेताले जसपाका शीर्ष नेतासँग शुक्रबार नै छलफल गरेका छन् । कांग्रेससँगको छलफलका लागि जसपाका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई समेत पुगेका थिए । उनी ओलीले बोलाएको बैठकमा गएका छैनन् ।