काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको पहलमा अमेरिका, भारत, जापान र अस्ट्रेलियाका सरकार तथा राष्ट्रप्रमुखबीचको वार्ता सम्पन्न भएको छ । यी चार मुलुकबीचको समुहलाई क्वाड समूह नाम दिइएको छ । एसियामा चीनको बढ्दो प्रभाव कम गर्न जापानको रणनीतिमा यो समुह सक्रिय भएको हो । लामो समयदेखि बस्न नसकेको बैठक बाइडेनले डाकेका हुन् ।
शुक्रबार सम्पन्न बैठकले कोरोना विरुद्धको खोपका सम्बन्धमा भने एक महत्वपूर्ण निर्णय गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बैठकले आगामी सन् २०२२ को अन्त्यसम्म एसियामा कोरोनाविरुद्धको एक अर्ब डोज खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
बाइडेनसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानका प्रधानमन्त्री योशीहिदे सुगा र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन भर्चुअल वार्तामा जोडिएका थिए । बिबिसीले लेखे अनुसार बैठकमा पछिल्लोपटक प्रयोगको अनुमति पाएको जोन्सन एण्ड जोन्सन खोप पनि भारतमा समेत उत्पादन गर्नेबारे सहमति जुटेको छ । अहिले भारतबाट अक्सफोर्ड अस्ट्राजेनेकाको कोभिशिल्ड खोप र भारतको आफ्नै खोप कोभ्याक्सिन उत्पादन जारी छ ।
भारतको उत्पादन, अमेरिकाको प्रविधि, जापान र अमेरिकाको आर्थिक सहयोग तथा अस्ट्रेलियाको संरक्षणबाट एक अर्ब डोज खोप एसियामा उपलब्ध गराउने प्रतिबद्धता बैठकले गरेको हो । यसबाहेक बैठकमा आपसी सहयोग, सम्बन्ध, अन्तर्राष्ट्रिय व्यापार र जलवायु परिवर्तनका विविध मुद्दामा यी चार मुलुकबीचमा छलफल भएको छ ।