स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ, कूल लागत २ खर्ब

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गरेका छन् ।

आइतबार प्रधानमन्त्री निबास बालुवाटामा आयोजित बिशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गरेका हुन् ।

प्रदेशिक राजधानीसँग सडक सञ्जालले नजोडिएका २८३ स्थानीय तहलाई अगामी ५ वर्षभित्र जोडने गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालले अब विकासको गतिलाई तिब्र रुपमा अघि बढाएको र यो भौतिक विकासको माध्यमबाट सामाजिक विकास पनि सँगै हुने बताए ।

प्रधानमन्त्री ओलीले सडक निर्माणमा प्राविधिक र व्यवहारिक पक्षलाई सँगसँगै ध्यान दिन आग्रह गरे । विकास मात्र नभइ दीगो विकासको मापदण्डलाई स्वीकार गरेर अघि बढ्न उनले निर्देशन पनि दिए ।

सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी यसअघि नै भइसकेको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्षका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । उक्त कार्यक्रमको कूल लागत भने करिव २ खर्ब लाग्ने अनुमान गरिएको छ ।