काठमाडौं । एमालेका वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल पक्षधरले आगामी चैत ४ गते राष्ट्रिय भेला बोलाएका छन् । त्यसको पूर्वसन्ध्यामा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ३ नै केन्द्रीय सदस्यलाई चियापानमा निम्ता दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम
हुने भनी निम्ता गएको छ ।
निम्ता नेपाल र खनाल पक्षका नेताहरुलाई समेत गएको छ । प्रधानमन्त्रीले यसअघि खनाल र नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्ने तथा एकलौटी रुपमा पार्टीको महाधिवेशनको मिति तोक्ने निर्णय गरेका थिए । यसले पार्टी विभाजनतर्फ मोडिएको निष्कर्ष अर्को पक्षले गरेको छ । सोही अनुसार नेपाल खनाल पक्षले राष्ट्रिय भेला गर्न लागेको हो । नेपाल-खनाल पक्षले भने चियापानका नाममा अवैधानिक बैठकहरुलाई अध्यक्ष ओलीले वैधानिक बनाउन कोसिस गरेको प्रयासका रुपमा लिएका छन् ।