सिन्धुलीमा जिप दुर्घटना, चार जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

सिन्धुली । सिन्धुलीमा जिप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते छन् । प्रहरीका अनुसार कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप आज अपरान्ह पौने ४ बजे सडकबाट ५० मिटर तल खसेको हो । ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठ छन् । चालक भोजबिक्रम थापासहित घाइतेको जिल्ला अस्पताल सिन्धुलीमा उपचार जारी छ । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर पल्टिएको बताइएको छ । जिपमा ११ जना चढेका थिए ।