ओलीले बोलाए एमाले संसदीय दलको बैठक, नेपाल-खनाल पक्षीय सांसद नजाने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी संसदीय दलको बैठक डाकेका छन् । तर, यो बैठकमा वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल पक्षधर सांसद भने उपस्थित नहुने भएको छन् । त्यो समुहको राष्ट्रिय कार्यकर्ता भेला आज पनि काठमाडौंमा जारी रहने छ ।

ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमाले संसदीय दलको बैठक बोलाएका हुन् । यो समुहले बैठकलाई नियमित भनेको छ । तर अर्को पक्षले भने ओलीले सांसद आफुतिर तान्ने रणनीति अनुसार ओलीले बैठक बोलाएको अनुमान गरेको छ । ओलीले कारवाही गर्न सक्ने डरले पनि सांसद आफुतिर आउने अध्यक्षको विश्वास छ । सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताएपछि अहिले एमाले नै फुटको नजिक पुगेको छ ।