वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शब्द युद्ध चलेको छ । एक अमेरिकी टेलिभिजनमा जो बाइडेनले पुटिनलाई हत्यारा भनेका छन् । त्यसको जवाफमा पुटिनले हिम्मत भए प्रत्यक्ष कुराकानी गर्न चूनौति दिएका छन् । पुटिनले रशियन टिभिमा बोल्दै यस्तो चूनौति दिएका हुन् । राष्ट्रपति बाइडेनले एबीसी टेलिभिजनमा बोल्दै पुटिनको सुरक्षा एजेन्सीले विपक्षी नेता एलेक्सी नवेलनीलाई मार्ने कोसिस गरेको आरोप लगाएका थिए ।
यो आरोपको समेत पुटिनले ठाडै अश्विकार गरेका हुन् । उता, बाइडेनले सन् २०२० को चुनाव प्रभावित पार्न रुसले खेलेको भूमिकाको समेत ठूलो मूल्य चुकाउनु पर्ने चूनौति दिएका छन् ।
हालै अमेरिकी इन्टिलीजेन्सको एक रिर्पोट सार्वजनिक भएको छ, जसमा अमेरिकी चुनाव प्रभाव पार्न रुसी राष्ट्रपतिले एक अभियानलाई अनुमति दिएको खुलेको छ । बाइडेनले सत्ता सम्हाले लगत्तै यी दुई शक्तिशाली मुलुकबीचको सम्बन्ध भने बिग्रिएको छ । किनकी रुसले पूर्व रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रंपको पक्षमा अभियान चलाएका थिए ।