काठमाडौं । नेपालमा अब अवैध रुपमा भित्रिएका मोवाइल सेटले काम नगर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी जेठबाट अवैध मोवाइलको सेट लक गर्ने प्रणाली कार्यान्वयनमा ल्याउँदैछ । प्राधिकरणले यो प्रणाली कार्यान्वयन गराउन आवश्यक यन्त्र उपकरण नेपाल ल्याइसकेको र जडानको काम भइरहेको जनाएको छ। यो सिस्टम प्रयोगमा आएसँगै नेपालमा दर्ता नभई अवैध रुपमा भित्रिएका मोवाइल सेटले काम गर्ने छैन ।
विदेशबाट व्यक्तिगत रुपमा ल्याएका मोवाइल सेटलाई पनि बैध गराउन दर्ता गर्नु पर्ने भएको छ । प्रणालीको डेटाबेसमा नभएका डिभाइस ब्लक भएसँगै नेटवर्कले काम गर्ने छैन । आधिकारिक आयातकर्ताले भने डिभाइसको युनिक नम्बर दर्ता गराउने छन् । यसरी दर्ता भएका मोवाइल भने चल्नेछन् । सिस्टममा दर्ता भएका डिभाइसको डेटाबेस सेवा प्रदायकको नेटवर्कसँग जोडिएपछि काम गर्नेछ ।
विदेशबाट फर्कदा समेत एउटा व्यक्तिले एक वर्षमा निश्चित डिभाइस मात्र दर्ता गर्न पाउने गरी नियम बन्ने छ । यद्दपी पहिलो ६ महिना भने यो प्रणाली परीक्षणका रुपमा संचालनमा ल्याउने तयारी प्राधिकरणको रहेको छ । नेपाली संचारमाध्यमहरुका अनुसार यसबीचमा प्राधिकरणले जनचेतनाको काम समेत गर्नेछ । ६ महिनापछि पनि बाध्यकारी बनाउने छ ।