काठमाडौं । दक्षिणकाली नगरपालिका–१, खहरेमा आज दुई किशोरको शव एकै स्थानमा भेटिएको छ । काठमाडौं प्रहरी प्रभागका अनुसार नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीया मंगल तामाङको शव फेला परेको हो । प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् ।
तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन्। दुवै जना बांगेमुढामा बस्ने गरेको पाइएको बताइएको छ । शुक्रबार दिउँसो दुई जनाको शव भेटिएको हो । त्यसपछि प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।
केन्द्रीय प्रहरी कुकुर विद्यालयबाट विशेषज्ञ कुकुर ल्याएर घटनास्थलमा छाडिएर अनुसन्धान गरिएको छ । फरेन्सिक विज्ञसहितको टोलीले जाँच गरेपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलबाट सल्फस नामक विषादीको बट्टा बरामद भएको छ ।