काठमाडौं । मनाङमा भएको ट्रक दुर्घटनामा ६ जनाको ज्यान गएको छ । ध १ ख ५९२ नम्बरको मालबहक ट्रक शनिबार दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार तीन जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममाः ज्यान गएको हो ।
मनाङको नासों गाउँपालिका वडा नम्बर ४ स्थित खोत्रोमा शनिबार अपरान्ह ३ बजेतिर ट्रक दुर्घटनामा परेको थियो । लमजुङको बेशीसहरबाट सिमेन्ट बोकेर मनाङ जाँदै गरेको ट्रकमा यात्रु समेत बसेको पाइएको छ ।
दुर्घटनामा मनाङको नासों गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षिया मनिषा गुरूङ, ३० वर्षिया जलकाशी गुरूङ र मनिषाका छोरा डेढ वर्षिय लियोन गुरूङको घटनास्थलमै मृत्यु भएको थियो ।
घाइतेमध्ये मनाङको चामेका २८ वर्षिय राजु विक र लमजुङ मर्स्याङ्दी खोरियाखेतका २१ वर्षिय लक्ष्मण नेपालीलाई उपचारका लागि लैजाँदै गर्दा लमजुङमा शनिबार राती मृत्यु भएको हो । नासों गाउँपालिका १ तालका ३ वर्षिय थियोन गुरूङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका दुई जनाको उपचार भइरहेको छ । मालबाहक सवारीले यात्रु ओसार्न पाइदैन । तर, प्रहरीको निगरानी नहुँदा ग्रामिण भेगमा यस प्रकारको जोखिम मोलेर यात्रु यात्रा गर्न बाध्य भएका छन् ।