नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले पायो अनुमति

काठमाडौं । नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले अनुमति पाएको छ । अघिल्लो शुक्रबार नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिन नेपाल ल्याउन निजी कम्पनीले अनुमति पाएको हो । भारत बायोटेकको नेपालस्थित आधिकारिक एजेन्ट इमराल्ड फर्मा काठमाडौँले खोप आयात गर्न औषधि व्यवस्था विभागबाट अनुमति पाएको हो ।

अनुमति पाएसँगै करीव दुई सातामा यो कम्पनीले खोप ल्याउन सक्ने भएको छ । यद्दपी निजी क्षेत्रले ल्याएको खोप सरकारले खरिद गर्ने वा निजी क्षेत्रलाई नै प्रयोग गर्न दिने भन्ने विषय भने निर्धारण भएको छैन । अहिले नेपालमा सरकारी स्तरबाट मात्र खोप आइरहेको छ ।


नेपालमा अहिलेसम्म अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरी भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग भएको छ । भारतले अनुदानमा दिएको, नेपालले खरिद गरेको र विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअनुसार पाएको गरी हालसम्म २३ लाख ४८ हजार डोज खोप नेपाल भित्रिसकेको छ । नेपालले किनेको १० लाख डोज खोप भने नेपाल आउन बाँकी छ ।