काठमाडौं । सरकारले होटेल तथा रेस्टुरेन्टलाई विद्यूत ‘डिमान्ड शुल्क’मा लकडाउन अवधिभर शतप्रतिशत छुट दिने निर्णय गरेको छ । होटेल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित रुपमा नवीकरण भएका र कर विवरण पेस गरेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
उनका अनुसार सरकारले लकडाउन घोषणा गरेको अवधि २०७६ चैत ९ देखि २०७७ भदौ मसान्तसम्मको शतप्रतिशत डिमान्ड शुल्क छुट दिने निर्णय भएको हो । २०७७ असोज १ गतेदेखि २०७७ माघ मसान्तसम्मको डिमान्ड शुल्कमा भने ५० प्रतिशतले छुट दिने निर्णय सरकारले गरेको छ । होटेल व्यवसायीले अन्य उद्योगसरह आफुहरुले पनि डिमाण्ड शूल्कमा छूट पाउनु पर्ने माग गरेका थिए ।