काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्लो ३ कारोदिनमा करिब १४० अंकले बढेको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ५० करोड रुपैयाँले गिरावट आएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से २४.०६ अंकले घटेर २५१४.४० विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २११ कम्पनीको ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँ बराबरको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर किनबेच भएका छन् ।
मंगलबार कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत् र होटल तथा पर्यटन बाहेक बाँकी ११ वटा समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै १०४.९७ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै ३१५.९६ अंकले बढेको छ ।
कारोबारमा आएका २११ कम्पनीमध्ये ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ४६ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल बंगलादेश बैंक ३१ करोड र नेपाल लाइफ इन्स्योरेन्स २६ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । माथिल्लो तामाकोशी र चन्द्रागिरी हिल्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् । घट्दो बजारमा आज प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ४.७१ प्रतिशत गुमाएका छन् ।