कोरोनाको दोस्रो लहर भित्रन नदिन नेपाल-भारत सीमामा कडाई शुरु

काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ । भारतका अधिकांश राज्यबाट नयाँ नयाँ संक्रमित पुष्टी भइरहेका छन् । यस अवस्थामा त्यो जोखिम नेपाल नआओस भन्ने उद्देश्यले नेपाल-भारत सीमानामा कडाई शुरु भएको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई सीमा नाकामा चेकजाँच हुने भएको छ ।

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएमा यात्रु क्वारेन्टिन बस्नु पर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. कृष्ण पौडेलका अनुसार भारतबाट नेपाल आएका र कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई क्वारेन्टिनमा राखिने भएको हो ।

सोमबारमात्रै विभिन्न नाकाबाट ३३०० जना व्यक्ति नेपाल प्रवेश गरेका छन् । यसरी भित्रने सबै यात्रुको हेल्थ डेस्कमा ज्वरो जाँचिन्छ । ज्वरो आएका यात्रुहरुको मलेरियाको आडीटी र सम्भव भएसम्म कोभिड १९ को एन्टिजिन टेष्ट गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।

संक्रमित भेटिए स्वास्थ्य संस्थामा पठाइनेछ । महाशाखाले पालिकाहरुमा हट स्पटको पहिचान गर्न र समुदायस्तरमा एन्टिजिन परीक्षणसम्बन्धी मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ ।