ढाका । बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बसिरहेको एक शिविरमा आगलागी हुँदौ एक हजार भन्दा बढी घर जलेर नष्ट भएका छन् । स्थानीय संचारमाध्यमका अनुसार त्यहाँको सबैभन्दा ठूलो शरणार्थी शिविरमा आगलागी भएको हो । बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको बताइएको छ ।
अग्नि नियन्त्रक र स्वयंसेवकले घण्टौं प्रयासपछि मात्र आगो निभाउन सकेका थिए । शिविरका घर बाँस र काठको प्रयोग गरि बनाइएको छ । शिविरमा भएको आगलागीका कारण भएको मानवीय क्षतिको विवरण भने अहिलेसम्म आएको छैन । तर, हजारौं परिवार पुनः एक पटक घरबारबिहिन भएको कक्स बजारमा काम गरिरहेका राहत संस्थाका व्यक्तिहरुले उल्लेख गरेका छन् ।
बढ्दो तापमानका बीच कमजोर संरचनाहरु हरेक वर्ष आगलागीको शिकार बन्ने गरेका छन् । तीन वर्ष पहिले म्यानमारमा हिंसा भड्किएपछि रोहिङ्ग्या मुसलमान त्यहाँबाट विस्थापित भई बंगलादेशमा आई शरण लिएका छन् ।