काठमाडौं । आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने भएका छन् । ट्राफिक प्रहरीले नै यस्तो निर्णय गरेसँगै पठाओले आफ्नो राइडरलाई यसबारे जानकारी गराएको छ । पठाओले राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन रोक लगाएको जनाएको छ ।
विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाई छ । राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र सोहीकारण ज्यानकै असुरक्षा हुने जोखिम समेत बढेपछि बुधबारबाट लागु हुने गरी यस्तो निर्णय भएको हो ।
पठाओ सञ्चालन भने निरन्तर हुने छ । राइडर र पठाओमा चढेका यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो । यो नियमपछि अफलाइन यात्रु बोक्ने प्रचलन हट्ने र राइडरको सुरक्षा बढ्ने अपेक्षा कम्पनीको छ । अफलाइन यात्रु बोक्दा यात्रुको बिमा नहुने र आक्रमणको समस्या समेत पछिल्ला दिनमा बढेका छन् ।