दिल्लीमा सार्वजनिक रुपमा होली मनाउन रोक

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीले सार्वजनिक रुपमा होली मनाउन रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतका विभिन्न राज्यमा प्रतिवन्ध शुरु भएका छन् । यसै क्रममा नयाँ दिल्लीमा सार्वजनिक स्थानमा होली, सबै प्रकारको विवाह उत्सव तथा नवरात्रिको उत्सव मनाउन समेत रोक लगाइएको छ । दिल्ली आपतकालिन प्रवन्धन प्राधिकरण (डीडीएमए)ले औपचारिक आदेश जारी गर्दै यस्तो जानकारी गराएको छ ।

भारतमा बढेको संक्रमणको जोखिम नेपालमा समेत उत्तिकै रहेको छ । यद्दपी नेपाल आउन पिसिआर रिर्पोट भने अनिवार्य गरिएको छ । दिल्ली सरकारले महामारी नियन्त्रणमा गंभीर हुनुपर्ने भन्दै यस्तो आदेश जारी गरेको बताएको छ ।

दिल्लीको सार्वजनिक जग्गा, पब्लिक ग्राउन्ड, पार्क, बजार या धार्मिक स्थानमा सार्वजनिक उत्सव, भिडभाड तथा उत्सव मनाउन रोक लगाइएको जनाइएको छ । यो आदेश पालना गराउन प्रहरी खटिने भएको छ । आदेश उल्लंघन गर्नेहरुमाथि कडा कारवाही गर्नै चेतावनी समेत दिइएको छ । दिल्लीमा मंगलवारमात्र ११ सय नयाँ संक्रमित पुष्टी भएको छ ।