काठमाडौं । कोभिड-१९ को सम्भावित दोस्रो लहरलाई लिएर गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। कोभिड १९ को खतरा फेरि दोहोरिन सक्ने भन्दै गृहले क्वारेन्टाइन र आइसोलेसन कक्षलाई तयारी अवस्थामा निर्देशन दिएको हो।
गृहमन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी खुमकान्त आचार्यले चैत ९ गतेकै मितिमा देशका सबै ७७ वटै जिल्ला प्रशासनलाई कोभिडको सम्भावित जोखिमसँग जुध्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए।
नेपालमा कोरोनाको जोखिम बढ्यो : भीडभाड, सभा, जुलुस, जमघट नगर्न आग्रह
‘नेपालमा फेरि कोरोनाको जोखिम बढ्ने अवस्था देखिएको छ। त्यहीकारण गृहले जिल्ला प्रशासन कार्यालयहरुलाई यस्तो निर्देशन दिएको हो’, उनले भने, ‘स्वास्थ्य मन्त्रालयले चैत ८ मै कोरोनाको जोखिम बढ्ने अनुमानसहित सचेत गराइसकेकाले हामीले जिल्ला प्रशासनहरुलाई तयारी अवस्थामा रहन भनेका हौँ।’
गृहले गरेको परिपत्रमा सभा, भेला, सम्मेलन र भीडभाड हुने सबै गतिविधि रोक्न भनेको छ। साथै स्वास्थ्य मापदण्ड पालना गर्न लगाउन पनि निर्देशन दिइएको आचार्यले जानकारी दिए।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले ८ चैतमै भेला, बैठक, गोष्ठी नगर्न आग्रह गरेको थियो। मन्त्रालयले संक्रमणको रोकथामका लागि कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्न पनि अनुरोध गरेको थियो।
केही हप्तादेखि विश्वका विभिन्न मुलुक र छिमेकी देश भारतमा समेत संक्रमण तीब्र गतिमा बढिरहेका बेला नेपालमा पनि संक्रमणको जोखिम बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका थिए।