चितवनमा ट्रकले कारलाई ठक्कर दिँदा २ जनाको मृत्यु

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत चितवनको दासढुंगामा ट्रकले कारलाई ठक्कर दिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटना आज अपराह्न साढे ४ बजे भएको हो । प्रहरीका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा२१च ६८५९ नम्बरको कार ठोक्किएका हुन् ।

घाइते कार चालकसहित ५ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा दुई जनाको बाटोमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा तनहुँ स्याम्घा नगरपालिका–४ बस्ने २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने ३१ वर्षीय रामकृष्ण भुजेल रहेका छन्।

गम्भीर घाइते कार चालक लमजुङ मध्यनेपाल नगरपालिका–७ बस्ने ४२ वर्षीय पदम सापकोटा छन् । स्याङजा विरुवा गाउँपालिका–३ बस्ने ४२ वर्षीय प्रसाद थापा र तनहुँ व्यास नगरपालिका वडा नं ६ बस्ने ४० वर्षीय जसमान परियारको पुरानो मेडिकल कलेजमा उपचार जारी छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।