काठमाडौं । नेपालले अब इ-पासपोर्ट वितरण गर्ने भएको छ । अहिले नेपालमा मेसिन रिडएबल पासपोर्ट (एमआरपी) प्रचलनमा रहेको छ । एमआरपीलाई समेत विस्थापित गरी अब इ-पासपोर्टमा जान लागेको राहदानी विभागले जनाएको छ , विभागले अतिआवश्यक नपरेसम्म एमआरपी नबनाउन समेत आग्रह गरेको छ । आगामी सेप्टेम्बरबाट नेपालमा इपासपोर्ट प्रचलनमा आउने भएको हो ।
विभागले इ-पासपोर्ट छाप्ने तयारी पूरा गरिकसेको समेत जनाएको छ । इ-पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको छ। यो कम्पनीले त्रिपुरेश्वरमै पासपोर्ट छाप्ने भएको हो ।
संचारमाध्यमहरुका अनुसार कम्पनीसँग २० लाख प्रति पासपोर्ट छाप्ने सम्झौता भएको छ । नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुनेछ । यो पासपोर्ट बोकेपछि प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने विभागको भनाई छ ।
संसारका १२० मुलुकमा इपासपोर्ट प्रचलनमा रहेको छ । इ-पासपोर्ट र एमआरपीको मूल्यमा समेत फरक नहुने भएको छ । नेपालले सन् २०१० मा हस्तलिखित पासपोर्ट विस्थापित गर्दै मेसिन रिडएबल पासपोर्ट प्रचलनमा ल्याएको हो । इपासपोर्ट आए पनि अहिले जारी भएका एमआरपी म्याद नसकिउन्जेल प्रयोगमै रहने भएका छन् ।