काठमाडौं । दिवंगत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको आज अन्त्येष्टि भएको छ । मस्तिष्कघातका कारण उनको शुक्रबार राति नर्भिक अस्पतालमा निधन भएको हो । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । स्वर्गीय जोशीको पार्थिव शरीरमा दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिए ।
अन्त्येष्टिपूर्व नेता जोशीको शव श्रद्धाञ्जली दिन निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सानेपामा जोशीको पार्थिव शरीरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाए ।
उनलाई श्रद्धाञ्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, एमाले नेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसहित शीर्ष नेतृत्व कांग्रेसको पार्टी कार्यालय सानेपामा पुगेका थिए ।
जोशीको जन्म २०१९ साल असार ३ मा काठमाडौंमा भएको हो । उनी नेपाल विद्यार्थी संघको पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाको पूर्वउपमेयर, २०६४ र २०७० सालमा काठमाडौं क्षेत्र नम्बर ८ बाट संविधानसभाको निर्वाचनमा निर्वाचित सांसद थिए ।
२०७३ सालमा उद्योगमन्त्री बनेका जोशी नेपाली कांग्रेसको १२ औं र १३औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए । जोशीका श्रीमती र एक छोरी रहेको राससले जनाएको छ ।