महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका, सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको अपहरणपछि भएको हत्याको अभियोगमा थप तीन जना पक्राउ परेका छन् । करीव एक महिनादेखि वेपत्ता झा दम्पत्तिको गत बिहीबार मात्र शव फेला परेको थियो ।
खाल्डो खनेर गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । प्रहरीले स्थानीय तारादेवी झा र उनका दुई छोरा कैलास र विकास झालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ परेका कैलासको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाएको र जलाएको वाकस, जलेका दाउरालगायत सामग्री फेला परेको थियो।
पक्राउ परेकाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । अहिलेसम्म भेटिएको प्रमाणका आधारमा उनीहरू झा दम्पती हत्यामा संलग्न देखिएको पुष्टी भएको प्रहरीले जनाएको छ । झा दम्पत्ति फागुन १० गते रातिदेखि वेपत्ता थिए । उनीहरुको शव पिपरा गाउँपालिका वडा नम्बर २ अतरारमा भेटिएको हो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई भने यसअघि नै पक्राउ गरि सार्वजनिक गरिसकेको छ । पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५, सहोडवाका ५२ वर्षिय रामबाबु यादव, उनकै २६ वर्षिय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुर छन् ।